सम्मान खबर
समाचार

संसद् खुलाउने सहमति, तीन सदस्यीय समिति गठन

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो ।नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समिति गठन गरिएको हो ।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुँदा आइतबार सहमतिमा पुग्न नसकेका दलहरू सोमबारको बैठकमा पनि साउन ३ गते विमानस्थलबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करीकै सन्दर्भमा छलफल भयो ।सत्ता साझेदार दलहरूले राजस्व अनुसन्धान विभागको अनुसन्धान सकिएको र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सङ्गठित अपराधमा अनुसन्धान गरिरहेकाले यस सम्बन्धमा छानबिन समिति गठन आवश्यक नरहेको अडान राखेका छन् । तर प्रतिपक्षी एमालेले समग्र अध्ययन अनुसन्धानका लागि छानबिन समिति गठनको माग दोहोर्याएको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन सदस्यीय समितिले सहमतिको मस्यौदा तयार पारेर मङ्गलबार बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने जानकारी दिए । उनका अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने–नगर्ने विषयमा निर्णायक संवाद मङ्गलबार दिउँसो २ बजेसम्म शीर्ष नेताको बैठकबाट मात्रै टुङ्गो लाग्ने छ ।उनले भने, “संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा संसद्मा रहेका राष्ट्रिय पार्टीको छलफल सकारात्मक भएको छ तर टुङ्गिएको छैन । मङ्गलबार २ बजे बैठक बस्ने छ र संसद्को काम कारबाही अघि बढाउने गरी एउटा सहमति बन्ने छ ।”कांग्रेस नेता रमेश लेखकले बैठकमा सबै सम्भावना र विकल्पमा छलफल भएको बताए । उनले मङ्गलबारको बैठकले सुन तस्करीका सन्दर्भमा जारी संसद्को गतिरोधको विषयलाई टुङ्गोमा पुर्याउने बताउँदै संसद् चल्ने विश्वास व्यक्त गरे ।एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ता साझेदार दलहरू सुन तस्करीको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार भएको दाबी गरे । उनका अनुसार मङ्गलबार बिहान ११ बजेसम्ममा समितिले सहमतिको मस्यौदा तयार गरेर अन्तिम रूप दिने निर्णय भएको छ । उनले भने, “तर त्यसको सन्दर्भ सर्तहरू के हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । पुनः बैठक बसेर निष्कर्षमा पुग्ने छौँ ।” उनले प्रहरीको छानबिनलाई प्रभावित नपार्ने गरी उच्चस्तरीय समिति बन्न सक्ने बताए । उनले नीतिगत र संरचनागत परिवर्तनका लागि समग्रमा भविष्यमा तस्करी अन्त्य गर्न समिति बनाउने सहमति बन्न सक्ने बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूबीच सहमति भएको र मस्यौदा तयार गर्ने जिम्मेवारी समितिले पाएको बताउँदै मङ्गलबार निर्णायक संवादपछि संसद् सुचारु हुने विश्वास व्यक्त गरे ।

Related posts

सिन्धुलीमा सडक दुर्घटनामा ४४ जनाको मृत्यु

Balika Shiwakoti

काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड

samman khabar

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Balika Shiwakoti

Leave a Comment