सम्मान खबर
अन्तरास्ट्रिय समाचार

विमान दुर्घटना : वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित दश जनाको मृत्यु

 रुस । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । रुसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन् ।

विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए । उनीहरूको मृत्यु भएकोबारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन् । तर आपत्कालीन सेवा प्रदायकहरूलाई उदृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ।तिनको परिचय भने खुलाइएको छैन । वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ ।जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन् । पछिल्लो पटक यही साता जारी एक भिडियोमा उनी अफ्रिकामा रहेको बताइएको थियो ।युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो । बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो । राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो ।युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको ‘शेफ’ वा भान्से पनि भनिन्थ्यो । वर्षौँसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए ।तर गत वर्षको सेप्टेम्बरमा उनले वाग्नरको स्थापना आफैँले गरेको बताए । सन् २०१४ मा पहिलो पटक वाग्नरको उपस्थितिबारे थाहा भएदेखि नै उक्क समूह बर्बरताका निम्ति कुख्यात भयो । उक्त समूहका लडाकुहरू युक्रेन, सिरिया अनि पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाइएका छन् जहाँ तिनले क्रूर यातना दिएका अनि गैर न्यायिक हत्या गरेका आरोप लागेका छन् ।वाग्नरका कैयन् लडाकुहरू जेल परेका अपराधीहरूबाट चयन गरिने गरिएको बताइन्छ। तिनले जेल जीवन जिउनुको साटो वाग्नरमा भर्ना हुने छनोट गर्न पाउने बताइन्छ । दुई महिना अगाडि प्रिगोजिनले छोटो समयको विद्रोहको अगुवाइ गरे यता नै अब उनको भविष्य कहाँ पुगेर टुङ्गिएला भन्ने चर्चा रुसभित्र निकै चलेको थियो ।विमान दुर्घटना भएको एक घण्टा नबित्दै रुसी उड्डयन निकायले विज्ञप्ति जारी गर्दै प्रिगोजिनको नाम यात्रुको सूचीमा रहेको जनाएको थियो । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडनले खासमा के घटना भएको हो भन्ने आफूलाई थाहा नभएको भए पनि रुसमा हुने कुनै पनि घटनामा पुटिन जिम्मेवार हुने उल्लेख गरेका छन् ।युक्रेनका राष्ट्रपतिका निकट सहयोगी माइखालो पोदोल्याकले यदि समाचार सत्य हो भने त्यसले क्रेम्लिनविरुद्ध जानेलाई मृत्युदण्ड दिइने सङ्केत दिने बताए ।

Related posts

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

samman khabar

चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट विभाग प्रमुख लिउ

Balika Shiwakoti

चीनको वुहानमा फेरि लकडाउन

Balika Shiwakoti

Leave a Comment