सम्मान खबर
गृह पृष्ठ देश

नेवार समुदायमा आज यःमरी पुन्हि मनाइदै

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन्।

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ। नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

आज धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।

यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउँछन्। यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उनी बताउँछन्।

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उनी बताउँछन्।

यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ। धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनी बताउँछन्।

संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताए। यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उनको भनाइ छ।

Related posts

‘नेपहपको श्रीपेच’ का विजेतालाई नयाँ मुकुट

Balika Shiwakoti

सार्वजनिक सवारी साधनमा घट्यो भाडा

Balika Shiwakoti

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

Balika Shiwakoti

Leave a Comment